चुडामणि तिम्सिना

कार्यकारी निर्देशक

आफ्नो गाऊँ घर, वस्ती वा नजिकको बजारमा संभाव्य व्यवसाय गरौं, स्वरोजगार बनौं, बेरोजगार नबसौं


सुदूरपश्चिम प्रदेशमा विगत लामो समय देखि रोजगारीका लागि विशेषत भारततर्फ जाने कार्य हाल परम्परा, रहर, देखासिकि हुंदै बाध्यात्मक अवस्था जस्तो बन्‍न पुगेको छ। त्यसै पनि यो प्रदेश निर्वाहमुखि कृषि, उच्च गरिवी, अशिक्षा, अन्धविश्‍वास, जातिय विभेद जस्ता धेरै सामाजिक र सांस्कृतिक समस्याहरु भएको प्रदेशको रूपमा रहेको अवस्था छ।


राज्यको लोकतान्त्रिक, गणतान्त्रिक पुनर्संरचना पश्‍चात गठित सुदूरपश्चिम प्रदेश सरकारले यो प्रदेशमा उच्च संख्यामा रहेका बेरोजगार व्यक्तिहरूलाई स्थानीय स्तरमै संभाव्य उत्पादनमूलक कार्यहरूमा जोडि विविध प्रकारका स्वरोजगारजन्य व्यवसायहरूमा संलग्न गराई बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गर्दै आत्मनिर्भर अर्थतन्त्र र स्वाभिमानी समाजको निर्माण गर्न सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषको परिकल्पना गरे बमोजिम यो कोषको स्थापना भएको हो।


सुदुरपश्चिम प्रदेशभर स्थानीय स्तरमा संभाव्य रोजगारीका अवसरहरू पहिचान गरी उत्पादनका साधनहरुमा पहुँच नभएका व्यक्तिहरू विशेष गरी महिला, दलित, जनजाति, द्वन्दपीडित, अपाङ्ग र आर्थिक एवं सामाजिक रूपमा पिछडीएका समुदायलाई प्राथमिकतामा राखी कृषिजन्य वस्तुको उत्पादन, प्रशोधन, बजारिकरण वा सेवामूलक तथा लघुउद्योग लगायतका परियोजनामा संलग्न हुने अवस्था सृजना गरी स्थानीय स्तरमा स्वरोजगारको अवसरहरू बृद्धि गर्ने कार्यमा कोषले स्थानीय स्तरमा क्रियाशिल वित्तीय कारोवारमा संलग्न सहकारी संघ संस्था वा बैङ्क तथा वित्तीय संस्था मार्फत सरल कर्जाको व्यवस्था गर्दछ।


सुदूरपश्चिम प्रदेश सरकारले यस प्रदेशको समग्र विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारका क्षेत्रमा थुप्रै परियोजनाहरु सञ्चालनको क्रममा रहेको र आफ्नो गाऊँ घर, वस्ती वा नजिकको हाट बजारमा संभाव्य  व्यवसाय गरौं, स्वरोजगार बनौं, बेरोजगार नबसौं भनेर सबैमा आह्वान गर्न चाहन्छु। सुदूरपश्चिम प्रदेश सरकारले उच्च महत्वका साथ अघि बढाएको स्वरोजगार अभियान सरोकारवाला सबै निकाय एवं समुदायको समन्वय तथा सहकार्यबाट मात्र सम्भव हुने भएकाले कोषको कार्यकारी निर्देशकको हैसियतले सम्बद्ध सबैमा समन्वय, सहकार्य एवं सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु।